Saturday 9 October 2010

विश्वका सबैभन्दा जोखिमपूर्ण विमानस्थल


विमानको उडान र अवतरणका बेला हुने अनुभूति धेरैका लागि रोमाञ्चक हुन्छ । तर यहाँ चर्चा गरिएका विमानस्थलमा अवतरण गर्दा वा उडान भर्दा कस्तो अनुभव हुन्छ, ठ्याक्कै भन्न सकिन्न । किनकि, यी विमानस्थल हामीमध्ये धेरैले कहिल्यै देखेका छैनौं । यी विमानस्थल विश्वका सबैभन्दा रोचक र सुरक्षा दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण छन् ।

१. लुक्ला विमानस्थल (नेपाल)

विश्वमै सम्भवतः सबैभन्दा खतरा र जोखिमपूर्ण मानिएको नेपालको लुक्ला विमानस्थल समुद्री सतहदेखि २८ सय मिटरमा अवस्थित छ । सबैभन्दा उचाइमा रहेको विमानस्थलका रुपमा पनि यसलाई लिइन्छ । लुक्लाबाटै सर्वोच्च शिखर सगरमाथाको यात्रा सुरु हुन्छ ।

यसको ल्यान्डिङ स्ट्रिप पहाडको भिरालो खोंचमा बनेको छ । यसको लम्बाइ ४ सय ५० र चौडाइ २० मिटर छ । धावनमार्ग थोरै रहेको यो विमानस्थलको एप्रोनमा चारवटा स्ट्यान्ड र हवाई यातायात नियन्त्रण टावरभन्दा १ सय ५० मिटर तल एउटा हेलिप्याड छ । यहाँ अवतरणका लागि पर्याप्त उपकरणको आभाव छ
यो विमानस्थलमा अवतरण गराउने र उडान भर्ने पाइलट चनाखो हुनुपर्छ किनभने धावनमार्गको दूरी आवश्यकताभन्दा कम छ । यसका लागि लामो अनुभव भएका पाइलट आवश्यक पर्छ । एप्रोनको क्षेत्र पनि निकै थोरै छ । अर्कोतर्फ अग्लो पहाड छ । ल्यान्डिङ स्ट्रिपको दाहिनेतिर अग्लो र अर्कोतिर गहिरो खोंच अर्थात उपत्यका छ । सबैतिर खतराका संकेत देखिने लुक्ला विमानस्थल 'एड्भेन्चर'मा रमाउनेका लागि भने उपयुक्त हुनसक्छ ।

वरिपरिको प्राकृतिक मनोरम दृश्यले जोकोहीलाई पनि मोहित पार्छ । सधैंजसो बादल लागिरहने भएकाले कहिलेकाहीँ यात्रुहरूलाई गन्तव्यमा पुग्न कैयौं दिन पर्खिनुपर्ने बाध्यता पनि छ । यहाँ विशेषगरी विदेशी पर्यटकहरूको घुइँचो लाग्छ । यहाँबाट नै खुम्बु र सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प)को पैदलयात्रा सुरु हुने भएकोले पनि लुक्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण क्षेत्रको रुपमा परिचित छ । नेपालका धेरै व्यस्त विमानस्थलमध्ये यो सम्भवतः पहिलो नम्बरमा पर्छ । पिक सिजनको समयमा यहाँ दैनिक ५० वटासम्म उडान-अवतरण हुन्छन् ।

सुरक्षाका दृष्टिकोणले यो विमानस्थल अत्यन्तै संवेदनशील छ । विश्वका सबैभन्दा खतरा र जोखिमयुक्त विमानस्थलको सूचीमा यो पहिलो स्थानमा छ ।

काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि लुक्ला विमानस्थलमा अवतरण गर्न सकिन्छ । यहाँ एसटीओएल विमानमात्र अवतरण गर्नसक्छ, जसले बढीमा १८ जनासम्म यात्रु बोक्नसक्छ ।

२. जिब्रल्टार (जिब्रल्टार)
 
दुईतर्फ समुद्र र सिटी सेन्टरबाट केबल ५ सय मिटरको दूरीमा अवस्थित जिब्रल्टार एयरपोर्ट पनि सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण छ । यसको धावनमार्गले सहरको मुख्य सडकलाई क्रस गर्छ । विमान उडान भर्ने र अवतरण गर्दा मुख्य सडकलाई पार गर्नुपर्छ । यतिबेला सडक बन्द गर्नुको अरु कुनै विकल्प छैन । एयर ट्राफिक कन्ट्रोलरको सूचनामा सानै गल्तीले पनि ठूलो दुर्घटना हुनसक्छ ।

३. विलिङ्टन (न्युजिल्यान्ड)

विलिङ्टन एयरपोर्टलाई 'विन्डी विलिङ्टन' र 'वाइल्ड एट हर्ट' को नामले पनि चिनिन्छ । यसको धावनमार्ग निकै कम छ । अवतरण र उडानका बेला विमान धावनमार्गभन्दा बाहिर जानसक्ने सम्भावना उच्च हुन्छ । साथै सधैंजसो हावा चलिरहने र हावाको वेग पनि उच्च रहने भएकाले यो विमानस्थललाई पनि अत्यन्त जोखिमपूर्ण मानिएको छ ।

४. बार्रा (स्कटल्यान्ड)

विश्वका अत्यन्त जोखिमपूर्ण विमानस्थलको चौथो सूचीमा रहेको स्टकल्यान्डको बार्रा एयरपोर्टको पनि धावनमार्ग आवश्यकताभन्दा कम छ । समुद्री तटीय क्षेत्रमा निर्माण गरिएको यो विमानस्थलको कथा सुन्दा रोचक लाग्छ । यो एकमात्र त्यस्तो विमानस्थल हो, जसलाई बेलाबेला समुद्री छालले पुरिदिन्छ । यसले गर्दा उडानको समय निश्चित हुँदैन । यो कृत्रिमभन्दा पनि प्राकृतिक बढी लाग्छ । विमानस्थलवरिपरि दिनमा केही कार पार्क गरिएका हुन्छन् भने राति समुद्री छालले पुरिदिन्छ ।
५.प्रिन्सेस जुलियाना (नेदरल्यान्ड)


सन् १९४२ मा सैनिक प्रयोजनका लागि निर्माण गरिएको प्रिन्सेस जुलियाना इन्टरनेसनल एयरपोर्ट पनि विश्वका अत्यन्त जोखिमपूर्ण विमानस्थलमा पर्छ । समुद्रको नजिकै निर्माण गरिएको यो विमानस्थल सन् १९४३ देखि नयाँ टर्मिनलका साथ सञ्चालन भएको थियो । सन् २००१ मा यसको थप मर्मत गरिए पनि जोखिम न्यूनीकरण गरिएको छैन । धावनमार्ग छोटो रहेकाले विमान अवतरण गर्ने समयमा गति एकदमै कम हुनेगर्छ । समुद्री किनारमा रमाइलो गरिरहेका मानिसहरूले आफ्नो केही मिटर माथिबाटै विमान उडेको देख्छन् ।