Tuesday 22 February 2011

हवाई भाडा तीस प्रतिशतसम्म बढ्यो

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले बुधबारबाट न्युनतम सातदेखि अधिकतम ३० प्रतिशतसम्म हवाई भाडा बढाएका छन्। अब काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमरा जान २ हजार १ सय ६० रुपैयाँ लाग्छ भने टाढाको धनगढी जान ८ हजार २ सय ५५ रुपैयाँ तिर्नुपर्छ। भारतीय र नेपालीलाई माउन्टेन फ्लाइट गर्न अब ८ हजार १ सय ५ रुपैयाँ लाग्छ। यी सबै भाडा दर करसहित हुन्। यसअघि सिमराको भाडा १ हजार ६ सय ६०, धनगढीको ७ हजार ७ सय ४० र माउन्टेन फ्लाइटको ६ हजार ९ सय ९० रुपैयाँ थियो।

'सरकारले फागुन १ बाट हवाई भाडा बढाउने स्वीकृति दिए पनि हामीले ४ गतेबाट बढायौं,' बुद्ध एयरका वरिष्ठ प्रबन्धक रुपेश जोशीले बुधबार नागरिकसँग भने, 'पाँच वर्षपछि बढाएका हौं।' जोशीका अनुसार कम्पनीहरूले सस्तोतर्फ भाडा बढाएका छैनन् भने मध्यमतर्फ २ सय ५० रुपैयाँ र नर्मलतर्फ ५ सय १५ रुपैयाँसम्म बढाएका हुन्। प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति भए पनि पाँच वर्षसम्म केही हुन सकेको थिएन।

हवाई भाडा पुनरावलोकन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत कात्तिक १७ मा कार्यदल गठन गरेको थियो। त्यसअनुसार काम नभएपछि निजी वायुसेवा कम्पनीहरूको संगठन वायुसेवा सञ्चालकसंघले गत माघ १७ मा हवाई भाडा तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको थियो। 'पाँच वर्षभित्र हवाई इन्धन, जहाज मर्मत सम्भार, बिमा, ल्यान्डिङ, पार्किङ, वायुयान दर्ता, नवीकरण, लिज कर, भ्याट, महँगी वृद्धि भएको छ,' जोशीले भने, 'तर, पनि भाडा बढाउन सकिएको थिएन।'

गुण एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले मध्यमतर्फ पोखराका लागि २ सय ८०, विराटनगर ३ सय १५ र भैरहवा सेक्टरमा ३ सय १५ बढेको जानकारी दिए। 'सस्तोतर्फ भने भाडा दर तलमाथि गरेका छैनौं,' उनले भने। नर्मलतर्फ सिमरालाई ५ सय र धनगढी सेक्टरमा ५ सय १५ रुपैयाँ बढेको उनले बताए। उनका अनुसार सस्तोतर्फ पोखरा करसहित २ हजार ३०, विराटनगर ३ हजार २ सय १० र भैरहवाको २ हजार ८ सय ९५ रुपैयाँलाई यथावत राखिएको छ।

सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए 'फ्युल सरचार्ज' पनि समायोजन गर्न पाउने सहमति छ। वायुसेवा सञ्चालकले सरचार्ज भन्ने गरे पनि यात्रुका लागि भाडा तलमाथि हुने गर्छ। फ्युल सरचार्ज हवाई टिकटमै उल्लेख भएको हुन्छ।

'सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय गरेको छ,' यती एयरलाइन्सका वरिष्ठ बिक्री तथा बजार निर्देशक विनय शाक्यले भने, 'अहिले फ्युल सरचार्ज बढेको भने होइन।'

वायुसेवा कम्पनीका अनुसार नर्मल भाडातर्फ अब पोखरा जान करसहित ३ हजार ३ सय ६० रुपैयाँ लाग्छ। यसअघि २ हजार ८ सय ६० लाग्थ्यो। त्यसै गरी विराटनगर जान ४ हजार ७ सय २०, भैरहवा ४ हजार १ सय ९०, भद्रपुर ५ हजार ४ सय ३५, जनकपुर २ हजार ८ सय ५५, भरतपुर २ हजार ४ सय ८५ र नेपालगन्ज जान ५ हजार ९ सय ८५ रुपैयाँ तिर्नुपर्छ।

वायुसेवा कम्पनीहरूले गत मंसिर तेस्रो साता आन्तरिक सेक्टरको भाडा दर समान बनाएका थिए। यसअघि सबैको भाडा दर फरक–फरक थियो। फरक दर हुँदा यात्रुले छानेर जहाज चढ्न पाउँथे। यात्रुलाई थप गुणस्तरीय सेवा दिन र प्रतिस्पर्धामा खरो उत्रिन भाडा समान बनाएको वायुसेवा कम्पनीले बताए पनि यसको प्रत्यक्ष मार यात्रुलाई परेको छ। यती एयरलाइन्स, गुण एयरलाइन्स र अग्नि एयरले सस्तो, मध्यम र नर्मल तीनै थरी भाडा दरमा ६० देखि ६ सय रुपैयाँसम्म बढाएर प्रतिस्पर्धी वायुसेवा बुद्ध एयरसरह बनाएका थिए।

गन्तव्य        अहिले    पहिले
पोखरा          ३३६०      २८६०
विराटनगर   ४७२०      ४२२०
भैरहवा         ४१९०     ३६८०
भद्रपुर         ५४३५      ४९३०
धनगढी        ८२५५      ७७४०
सिमरा         २१६०      १६६०
जनकपुर      २८५५     २३५०
भरतपुर        २४८५     १९७५
नेपालगन्ज   ५९८५     ५४७०

मूल्य रुपैयाँमा