Sunday 29 May 2011

उच्च रक्तचाप (Hypertension)

शरीरमा रगत संचार हुने बेलामा धमनीको भित्तामा (arterial wall)पर्ने चापलाई रक्तचाप (blood pressure/ BP) भनेर बुझिन्छ।रक्तचाप जति धेरै हुन्छ, मुटु र मृगौलालाई असर पर्ने र साथै ज्यानलाई नै जोखिम हुने सम्भावना त्यति नै धेरै हुन्छ।


सामान्यत: रक्तचाप नाप्दा 120/80 mmHg भन्दा कम हुन्छ। यदि रक्तचाप 120/80 mmHg देखि 139/89 mmHg बीच छ भने पूर्व-उच्च रक्तचाप (Pre-hypertension) भनिन्छ भने 140/90 mmHg वा त्यो भन्दा माथि छ भने उच्च रक्तचाप (Hypertension) भनेर भनिन्छ।

उच्च रक्तचाप कसलाई हुन्छ त?
- उच्च रक्तचाप वंशाणुगत जाने भएको हुनाले तपाईको परिवारमा पहिले देखि यो समस्या छ भने तपाईलाई पनि सो समस्या हुनसक्छ।

- मधुमेह, मृगौला र मुटुको रोगहरु पनि उच्च रक्तचापको जड हो

- जीवनशैली: मोटोपन, अधिक मात्रामा नून वा नूनिलो खानाको सेवन, धूम्रपान र मद्यपान साथै बिना व्यायाम-कसरतको शारिरिक निष्क्रियता

- उमेर ढल्दै जाँदा पनि रक्तचाप बढ्दै जान्छ

उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने?
- यसको सुरुमा कुनै चिन्हहरु र लक्षणहरु हुँदैन, त्यसैले रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ।

उच्च रक्तचाप कसरी कम गर्न सकिन्छ त?

- नियमित रुपमा रक्तचाप चेक (BP Check) गर्नुहोस्

- नून (नूनिलो खाना) साथै चिल्लो खाना पनि एकदम कम सेवन गर्नुहोस्

- प्रशस्त फलफूल र तरकारी खानुहोस्

फलफूल र तरकारी पोटासियमको प्राकृतिक स्रोत हो, जसले उच्च रक्तचाप कम गराउन सहयोग पुर्‍याउन्छ। फलफूल र तरकारीमा नून र चिल्लो कम हुन्छ भने रेसाको (fiber) राम्रो स्रोत हो।

- मानसिक तनाव कम गर्नुहोस्

- उच्च रक्तचापबाट हृदयघात पनि हुने गर्नाले त्यसबाट बच्नको लागि
धूम्रपानको लत त्याग्नुहोस्।
- सक्रिय जीवनशैली अप्नाउनुहोस्। शारिरिक सक्रियताले (कम्तीमा हप्तामा ४-५ दिन ३० मिनेट कसरत) उच्च रक्तचाप कम गर्नु साथै स्वस्थ वजन सन्तुलन गर्न साथै वजन घटाउन र अन्य रोगहरु लाग्नबाट पनि बँचाउछ।