Tuesday, 11 January 2011

सबैभन्दा बढी फेसबुक अपराध

प्रतिमा बाँस्कोटा

काठमाडौं, पुस २० - केही दिनअघि श्यामबहादुर क्षेत्रीलाई आफ्नो खाता रहेको बैंकको नामबाट एउटा इमेल आयो । राजधानीको नाम चलेको बैंकमा इन्टरनेट बैंकिङ कारोबार सुरु गरेका उनलाई त्यो इमेलमा पासवर्ड र युजर नेम पुरानो भएकाले परिवर्तन गर्न भनिएको थियो । इमेलको निर्देशन मानेका उनलाई त्यो आफ्नो खाता रहेको बैंकले पठाएको इमेल थिएन भन्ने हेक्कै भएन । कुनै ह्याकरले उनको पैसा चोर्न उनलाई बैंकको लोगोसहितको छली इमेल पठाएको थियो । उक्त निर्देशन मानेका उनको ई–बैंकिङ कारोबारको पासवर्ड ह्याकरको इमेलमा पुगेको थियो । खाताको रकम निस्कन नपाउँदै बैंकले पत्ता पायो र उनको पैसा चोरिनबाट जोगियो । महानगरीय प्रहरी अपराध महाशाखामा केही दिनअघि उजुरी परेपछि महाशाखाले ‘फिसिङ’ गरिएको उक्त नक्कली साइट बन्द गरिदियो । सूचना प्रविधिको दुरुपयोग गरेर यस्ता अपराध गर्नेहरू बढेका छन् । महानगरीय प्रहरी अपराध महाशाखामा दिनहुँ इमेल ह्याक भएको, इमेलबाट धम्की आएको मौखिक तथा लिखित उजुरी आइरहने सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनयताको ६ महिनामा ११ वटा साइबर अपराधका घटना भएका छन् । जसमा सबैभन्दा बढी फेसबुकसम्बन्धी ७ वटा छन् । ‘अर्काको नाममा फेसबुक खोलेर अश्लील विषयहरू पोस्ट गरेको, फेसबुक ह्याक गरेको लगायतका उजुरी पोस्ट हुने गरेका छन्,’ अपराध महाशाखा प्रमुख एसएसपी रणबहादुर चन्दले भने, ‘धेरैजसो घटनाहरू फेसबुकसँग सम्बन्धित छन् ।’

यस्तै, इमेल धम्की ३ र गैरकानुनी रूपमा तथ्यांक चोरी गरेको एउटा छ । अघिल्लो आर्थिक वर्षमा इमेल धम्की ४ वटा छन् । इमेल र पासवर्ड ह्याक २, फिसिङ २, एमएसएस धम्की २ वटा र गैरकानुनी कल बाइपास (भिओआईपी) ८ वटा छन् । विद्युतीय सञ्चार ऐन २०६३ मा लागू भए पनि सक्रिय रूपमा साइबर क्राइम नियन्त्रण र अनुसन्धानको काम गत सालबाट मात्र सुरु भएको हो ।

अपराध महाशाखामा साइबर क्राइम घटनाको अनुसन्धान गर्न पिलर स्थापना गरिएको छ । ‘काठमाडौं बाहिर र भित्र भएका साइबरसँग सम्बन्धित घटनाको अनुसन्धान यहीँबाट हुन्छ,’ एसएसपी चन्दले भने । काठमाडौं जिल्ला अदालतमा मात्र साइबर अपराधका बारेमा बहस हुने गरेको छ ।

माथिल्लो निकायबाट साइबर क्राइम नियन्त्रणका लागि कुनै पहल नभएको गुनासो प्रहरी अधिकृतको छ । ‘पर्याप्त जनशक्ति छैनन्, भएकालाई समेत पर्याप्त ज्ञान छैन,’ ती अधिकृत भन्छन् ।

समयमा कानुन परिमार्जन नगरिँदा कानुनी कारबाहीमा समस्या आइरहेको ती प्रहरी अधिकृत बताउँछन् । ‘चार वर्षअघि बनेको विद्युतीय सञ्चार ऐन परिमार्जन भएको छैन,’ उनले भने, ‘तर त्यसको तुलनामा अपराधका प्रकृतिहरू चौगुणा बढेका छन् ।’

साइबर अपराध नियन्त्रणको काम गर्दै आएको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक रञ्जनराज पन्तले साइबर अपराध अनुसन्धानका लागि प्रहरीलाई चाहिने प्राविधिक सहयोग गरिरहेको बताए । उनले अपराध बढिरहेको स्वीकार गर्दै सूचना सुरक्षा निर्देशिका तयार पारेर मन्त्रालयमा पठाइएको जानकारी गराए । नियन्त्रकले साइबर क्राइमबाट ठूलो आर्थिक क्षति हुन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

महाशाखाकै पहलमा तथ्यांक संकलन सुरु

साइबर क्याफेबाट इमेल धम्कीका घटना धेरै हुने गरेको भन्दै त्यसको तथ्यांक संकलनको काम सुरु गरेको छ । साइबर क्याफे कति छन् भन्ने तथ्यांक नहुँदा यस्ता घटना अनुसन्धान गर्न असहज भएको भन्दै तथ्यांक संकलनको काम सुरु गरिएको महाशाखा प्रमुख चन्दले बताए । ‘साइबर क्याफेबाट इमेल धम्की धेरै आउने गरेका कारण उनीहरूलाई क्याफेमा आउने ग्राहकको विवरण राख्न आग्रह गरिएको छ,’ उनले भने ‘साइबरमा आउने ग्राहकको विवरण राख्ने कागज गरेका छन् ।’

प्रहरीले राजधानीको सुनधारा न्युरोड, कालिमाटी, कुलेश्वर, पुतलीसडक र बागबजार क्षेत्रमा रहेका क्याफेका सञ्चालकको विवरण राखेर उनीहरूलाई कागज गराएको छ । कागजमा साइबरमा आउने ग्राहकको विवरण राख्नुपर्ने छ विवरणमा नाम, उमेर, ठेगाना, सम्पर्क, इन्टरनेट प्रयोग गरेको समय, प्रयोगकर्ताको परिचयपत्र राखेर सञ्चालकले सहीछाप गराउनु पर्नेछ । ‘कागज गरेको साइबर क्याफेबाट अपराध भयो भने त्यसको जिम्मा सञ्चालकले लिनुपर्छ,’ चन्द भन्छन्

यी हुन् एक्लै ४० डाँका तह लगाउने बहादुर (भारतीय गोरखा सैनिक)

रिपोर्टर(हरु):लालप्रसाद शर्मा


पोखरा, पुस २६ - एक्लै ४० डाँकालाई परास्त गरी थुप्रै यात्रुको धनमाल र युवतीको इज्जत जोगाउन सफल भारतीय सैनिकमा कार्यरत पोखरा, ६ बैदामका बिष्णुप्रसाद श्रेष्ठलाई भारत तथा स्थानीयस्तरमा सम्मानको ओइरो लागेको छ ।
आफ्नो १७ बर्षे सैनिक सेवाबाट निबृत्त भएर घर फर्किने क्रममा रेलमा आक्रमण गर्ने डाँकालाई परास्त गरेका ३५ वर्षिय श्रेष्ठ यतिबेला गाउँटोल तथा भारतभर चर्चामा छन् । घटनापछि उनी निबृत्तबाट फेरि सेवामा फर्काइएका छन् भने बढुवाको अवसर मिल्दैछ । साथै विभिन्न पदकबाट विभुषित हुँदै लाखौ नगद पुरस्कार पनि हात पर्दैछ ।
भारतको राँचीस्थित भारतीय सेनाको ७/८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट रिटायर्ड भै फर्किनेक्रममा गत सेप्टेम्बर २ को मध्यरातमा पश्चिम बंगालको चित्तरंजनमा मौरिना एक्सप्रेसको रेलमा डाँकाहरुले आक्रमण गरेका थिए । डाँकाले यात्रीको नगद, मोबाईलसेटलगायत अन्य सामान लुट्दै श्रेष्ठनजीकै आए । 'मसंग पनि सामान र पैसा मागे, मैले दिन्न भनेपछि थप्पड लगाए', उनले भने, 'प्रतिकारमा एक्लै १० जनालाई ढलाए ।' त्यसपछि डाकाले एक युवतीमाथि बलत्कारको प्रयास गर्न थालेका र मानवीय कर्तब्य संझेर प्रतिकारमा उत्रिएको उनले बताए ।
घटनापछि रिटायर्ड श्रेष्ठलाई अहिले सेवामा हाजिर गराइएको छ । उनलाई भारत सरकारका तर्फबाट दिईने सौर्य चक्र, सर्बोत्तम जीवन रक्षापदक र गोडरे फिलिप्स ब्रेभरी अवार्डकालागि प्रस्ताव गरिएको छ । तिनवटै अवार्डमा छनौट भए उनले कम्तीमा एक करोड भारतीय रुपैयाँ, हवाई तथा रेल यात्रामा विशेष सुविधा, मासिक भत्ता र पेन्सन पनि तीन पुस्ताले पाउनेछन । श्रेष्ठले सौर्य चक्र र सर्बोत्तम जीवन रक्षा पदक लगभग निश्चित भैसकेको र यही २६ जनवरी तथा अगस्ट १५ मा अवार्डको घोषणा हुने बताए ।
बहादुरी काम गरेको भन्दै श्रेष्ठलाई तत्कालै सेवामा प्रवेश गराउँदै कमाण्डिङ अफिसरले ५० हजार नगद र उपहार दिएका थिए । यसकासाथै बैदामको मितेरी नारी समुहले पनि श्रेष्ठलाई हालै सम्मान गर्‍यो । पोखरास्थित भारतीय पेन्सन क्याम्पका अधिकारीले पनि स्याबासी दिएका थिए ।
घटनामा श्रेष्ठले एक डाकालाई रेलकै शौचालयमा थुनिदिएका थिए भने तीन जनाको खुकुरी प्रहारबाट मृत्यु र ८ जना घाईते भएका थिए । उनीहरुबाट ५० ल्यापटप, २० लाख नगद, २ सयथान मोबाईल सेट, एकदर्जन सुनका सिक्री बरामद गर्न श्रेष्ठ सफल भएका थिए ।
डाकाको आक्रमणमा श्रेष्ठको देब्रेहातमा चोट लागेकोमा तीन महिनाको उपचारपछि निको भएको थियो । एक महिना छुट्टीमा आएका श्रेष्ठलाई आउने र जानेक्रममा दुई सुरक्षाकर्मी संगै पठाइएको छ ।
बाबु गोपालप्रसादले छोराले यति ठूलो बहादुरीको काम गर्दा निकै खुशी लागेको भन्दै सर्वसाधारणलाई बचाउनु फौजीको कामै रहेको बताए । श्रीमती सीताले पनि आफु बाँचेर ठूलो काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरिन् । 'घटनाले परिवारकै नाम र सम्मान् बढेको छ' उनले भनिन् ।

Friday, 7 January 2011

डब्लु जि सि कुम्ब्रान बाट सोक सभाको आयोजना सम्पन्न

स्वर्गीय श्री शान्त बहादुर थापाको असमाहिक निधन प्रती सोक मनाउन यही २०६७ पुष १६ गते डब्लु. जि. सि. कुम्ब्रानले ओक फिल्ड कम्युनिटी हलमा सोक सभाको आयोजना गरेको थियो। उक्त सभाको अग्रता डब्लु. जि. सि. कुम्ब्रानका पियमसी श्री लक्ष्मी प्रसाद लिम्बुले दिनु भ्एको थियो भने स्व. श्री शान्त ज्युले समाज प्रती दिनु भएको योगदानलाई स्मरण गराउदै डब्लु जि. सि. कुम्ब्रानका महासचिब श्री रमेश लिम्बु ज्युले सभालाई अगाडि बडाउनु भएको थियो। कार्यक्रम दुइे मिनट मौनधारण पस्चात सम्पूर्ण उपस्थीत दाजु भाई तथा दिदी बैनीहरुबाट तस्बिरमा पुष्प अर्पण गरिएको थियो। डब्लु. जि. सि. कुम्ब्रानका सम्पूर्ण स्दस्यहरुबाट सहयोगार्थ उठाएको अर्थिक सहयोग समाजको तर्फ बाट श्री लक्ष्मी लिम्बु र श्री हिमाल गुरुङ ज्यु बाट स्वर्गीय श्री शान्त बहादुर थापाको परिवारमा हस्तान्तण गर्नु भएको थियो। त्यसै गरी वहाँको कार्यकक्षमा कार्यरत मित्रहरु को तर्फ बाट श्री खेम बुरा ज्यु बाट पनि उठएको नगद हस्तान्तण गर्नु भयो।

सभामा कार्डिफबाट वेल्स नेपाली समाजका प्रमुख श्री चित्र राइ ज्यु बाट पनि आफ्नो समाजबाट उठएको नगद स्वा. शान्त ज्युको श्रीमती ज्युलाई हस्तान्तण गर्नु भएको थियो भने शिवजी श्रेष्ठ ज्युले आफ्नो मन्तब्य ब्याक्त गर्नु भएको थियो। मन्तब्यकै क्रममा वेल्स गोर्खा कम्युनिटिको तर्फबाट डब्लु. जि. सि. कुम्ब्रानका निबर्तमान पियमसी श्री ईन्द्र गुरुङ ज्युले शान्त ज्युले अल्प आयु लियर पनि धेरै उदारणिय कार्य गरेको राम्रो चर्चा गर्नु भयो।

अन्तमा सोकाकुल परिवार प्रती एस्तो दु:खत घढीमा धर्यधार्ण गर्ने सक्तीको भगवान सँग प्राथ्ना र उपस्थित सबैलाई धन्यबाद दिदै उक्त सभालाई श्री लक्ष्मी लिम्बुले सभा बिसर्जन गर्नु भयो।

हिमाल गुरुङ
कुम्ब्रान

Saturday, 25 December 2010

Click to play this Smilebox slideshow
Create your own slideshow - Powered by Smilebox
A free slideshow design by Smilebox

Saturday, 9 October 2010

विश्वका सबैभन्दा जोखिमपूर्ण विमानस्थल


विमानको उडान र अवतरणका बेला हुने अनुभूति धेरैका लागि रोमाञ्चक हुन्छ । तर यहाँ चर्चा गरिएका विमानस्थलमा अवतरण गर्दा वा उडान भर्दा कस्तो अनुभव हुन्छ, ठ्याक्कै भन्न सकिन्न । किनकि, यी विमानस्थल हामीमध्ये धेरैले कहिल्यै देखेका छैनौं । यी विमानस्थल विश्वका सबैभन्दा रोचक र सुरक्षा दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण छन् ।

१. लुक्ला विमानस्थल (नेपाल)

विश्वमै सम्भवतः सबैभन्दा खतरा र जोखिमपूर्ण मानिएको नेपालको लुक्ला विमानस्थल समुद्री सतहदेखि २८ सय मिटरमा अवस्थित छ । सबैभन्दा उचाइमा रहेको विमानस्थलका रुपमा पनि यसलाई लिइन्छ । लुक्लाबाटै सर्वोच्च शिखर सगरमाथाको यात्रा सुरु हुन्छ ।

यसको ल्यान्डिङ स्ट्रिप पहाडको भिरालो खोंचमा बनेको छ । यसको लम्बाइ ४ सय ५० र चौडाइ २० मिटर छ । धावनमार्ग थोरै रहेको यो विमानस्थलको एप्रोनमा चारवटा स्ट्यान्ड र हवाई यातायात नियन्त्रण टावरभन्दा १ सय ५० मिटर तल एउटा हेलिप्याड छ । यहाँ अवतरणका लागि पर्याप्त उपकरणको आभाव छ
यो विमानस्थलमा अवतरण गराउने र उडान भर्ने पाइलट चनाखो हुनुपर्छ किनभने धावनमार्गको दूरी आवश्यकताभन्दा कम छ । यसका लागि लामो अनुभव भएका पाइलट आवश्यक पर्छ । एप्रोनको क्षेत्र पनि निकै थोरै छ । अर्कोतर्फ अग्लो पहाड छ । ल्यान्डिङ स्ट्रिपको दाहिनेतिर अग्लो र अर्कोतिर गहिरो खोंच अर्थात उपत्यका छ । सबैतिर खतराका संकेत देखिने लुक्ला विमानस्थल 'एड्भेन्चर'मा रमाउनेका लागि भने उपयुक्त हुनसक्छ ।

वरिपरिको प्राकृतिक मनोरम दृश्यले जोकोहीलाई पनि मोहित पार्छ । सधैंजसो बादल लागिरहने भएकाले कहिलेकाहीँ यात्रुहरूलाई गन्तव्यमा पुग्न कैयौं दिन पर्खिनुपर्ने बाध्यता पनि छ । यहाँ विशेषगरी विदेशी पर्यटकहरूको घुइँचो लाग्छ । यहाँबाट नै खुम्बु र सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प)को पैदलयात्रा सुरु हुने भएकोले पनि लुक्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण क्षेत्रको रुपमा परिचित छ । नेपालका धेरै व्यस्त विमानस्थलमध्ये यो सम्भवतः पहिलो नम्बरमा पर्छ । पिक सिजनको समयमा यहाँ दैनिक ५० वटासम्म उडान-अवतरण हुन्छन् ।

सुरक्षाका दृष्टिकोणले यो विमानस्थल अत्यन्तै संवेदनशील छ । विश्वका सबैभन्दा खतरा र जोखिमयुक्त विमानस्थलको सूचीमा यो पहिलो स्थानमा छ ।

काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि लुक्ला विमानस्थलमा अवतरण गर्न सकिन्छ । यहाँ एसटीओएल विमानमात्र अवतरण गर्नसक्छ, जसले बढीमा १८ जनासम्म यात्रु बोक्नसक्छ ।

२. जिब्रल्टार (जिब्रल्टार)
 
दुईतर्फ समुद्र र सिटी सेन्टरबाट केबल ५ सय मिटरको दूरीमा अवस्थित जिब्रल्टार एयरपोर्ट पनि सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण छ । यसको धावनमार्गले सहरको मुख्य सडकलाई क्रस गर्छ । विमान उडान भर्ने र अवतरण गर्दा मुख्य सडकलाई पार गर्नुपर्छ । यतिबेला सडक बन्द गर्नुको अरु कुनै विकल्प छैन । एयर ट्राफिक कन्ट्रोलरको सूचनामा सानै गल्तीले पनि ठूलो दुर्घटना हुनसक्छ ।

३. विलिङ्टन (न्युजिल्यान्ड)

विलिङ्टन एयरपोर्टलाई 'विन्डी विलिङ्टन' र 'वाइल्ड एट हर्ट' को नामले पनि चिनिन्छ । यसको धावनमार्ग निकै कम छ । अवतरण र उडानका बेला विमान धावनमार्गभन्दा बाहिर जानसक्ने सम्भावना उच्च हुन्छ । साथै सधैंजसो हावा चलिरहने र हावाको वेग पनि उच्च रहने भएकाले यो विमानस्थललाई पनि अत्यन्त जोखिमपूर्ण मानिएको छ ।

४. बार्रा (स्कटल्यान्ड)

विश्वका अत्यन्त जोखिमपूर्ण विमानस्थलको चौथो सूचीमा रहेको स्टकल्यान्डको बार्रा एयरपोर्टको पनि धावनमार्ग आवश्यकताभन्दा कम छ । समुद्री तटीय क्षेत्रमा निर्माण गरिएको यो विमानस्थलको कथा सुन्दा रोचक लाग्छ । यो एकमात्र त्यस्तो विमानस्थल हो, जसलाई बेलाबेला समुद्री छालले पुरिदिन्छ । यसले गर्दा उडानको समय निश्चित हुँदैन । यो कृत्रिमभन्दा पनि प्राकृतिक बढी लाग्छ । विमानस्थलवरिपरि दिनमा केही कार पार्क गरिएका हुन्छन् भने राति समुद्री छालले पुरिदिन्छ ।
५.प्रिन्सेस जुलियाना (नेदरल्यान्ड)


सन् १९४२ मा सैनिक प्रयोजनका लागि निर्माण गरिएको प्रिन्सेस जुलियाना इन्टरनेसनल एयरपोर्ट पनि विश्वका अत्यन्त जोखिमपूर्ण विमानस्थलमा पर्छ । समुद्रको नजिकै निर्माण गरिएको यो विमानस्थल सन् १९४३ देखि नयाँ टर्मिनलका साथ सञ्चालन भएको थियो । सन् २००१ मा यसको थप मर्मत गरिए पनि जोखिम न्यूनीकरण गरिएको छैन । धावनमार्ग छोटो रहेकाले विमान अवतरण गर्ने समयमा गति एकदमै कम हुनेगर्छ । समुद्री किनारमा रमाइलो गरिरहेका मानिसहरूले आफ्नो केही मिटर माथिबाटै विमान उडेको देख्छन् ।

Tuesday, 1 June 2010

संविधानसभाको म्याद छ महिना थपिने

नेपालब्रिटेन डट् कम् संवाददाता
28 May, 2010
काठमाडौं

संविधानसभाको म्याद सकिन थोरै मात्र घण्टा बाँकी रहेको बेला दलहरु म्याद थपको विषयमा सहमतिको नजिक पुगेका छन् ।

दल निकट स्रोतका अनुसार दलहरु आन्तरिक छलफलबाट सहमतिका साथ अगाडि बढेर संविधानसभाको म्याद छ महिना थप गर्नेमा भित्रिरुपमा सहमत भएका छन् । सहमतिको लागिनै माओवादी स्थायी कमिटि नेपाली काग्रेसको पदाधिकारी बैठक र एमालेको संसदीय दलको बैठक बसेको स्रोतको दावी छ । स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले संवोधन गरे पछि संविधानसभाको म्याद छ महिनाकोलागि थपिने छ ।

आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो मन्तब्यमा घुमाउरो पाराले दलहरुविचको सहमतिकोलागि आफू राजिनामा दिन तयार रहेको राजिनामाको समयसीमा सहित अभिब्यक्त गर्नु हुने छ । भने प्रचण्डले संविधानसभालाई खत्तम पारेर मुलकलाई आफ्नो चपेटामा पार्ने षडयन्त्र भईरहेकोले प्रतिगामिहरुको षडयन्त्रलाई विफल बनाउन संविधानसभाको म्याद थपिने अभिब्यक्ती दिनु हुने छ । यी दुई अभिब्यक्तीबाट सत्तारुढ र प्रतिपक्ष दुबैले विजय महसुस गर्ने भएकोले दलहरुले यस्तो रणनीति तय गरेको नेताहरुले बताएका छन् ।

शेष घले झन् धनी

बिहिवार, 27 में 2010 22:15 नागरिक
स‌जीवप्रसाद पाण्डे सिड्नी, अष्ट्रेलिया।
 गत वर्ष अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा परेका छन्। अष्ट्रेलियाको प्रतिष्ठित बीआरडब्ल्यू म्यागजिनले बिहीबार प्रकाशित गरेको सूचीमा घले १७६ औँ स्थानमा परेका हुन्। गत वर्ष १६४ औँ स्थानमा पर्न सफल घलेको उक्त सूचीमा स्थान खस्किए पनि कूल सम्पत्ति भने बढेको छ। म्यागजिनका अनुसार उनको कूल सम्पत्ति गत साल २०८ मिलियन अष्ट्रेलियन डलर ( करिब १३ अर्ब रुपैया) बाट बढेर यो साल २३७ मिलियन अष्ट्रेलियन डलर ( करिब १४ अर्ब ८० करोड रुपैया) पुगेको छ। अर्थात्, गएको साल घलेको सम्पत्ति दिनको करिब ४९ लाख रुपैयाको दरले बढेको थियो।

५२ वर्षीय घले आजभन्दा २० वर्ष अघि अष्ट्रेलिया आएका हुन्। लमजुङको दुर्गम नायुङ गाउँमा सामान्य किसान परिवारमा जन्मेका घलेले विद्यालय शिक्षा दुराडाँडामा अवस्थित सर्वोदय माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। झन्डै ३६ वर्ष अघि एसएलसी पास गरेका घले त्यो साल देशभरिबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने १६० जनामध्ये एक थिए। उनले थापाथली क्याम्पस र त्यसपछि छात्रवृत्तिमा तत्कालीन सोभियत संघबाट इन्जिनीयरिङ्ग अध्ययन पूरा गरेका थिए।

२०४७ सालमा एमबीए गर्न मेलबर्न आएका घलेले आएको ६ वर्षमै मेल्बर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरेका थिए। हाल मेलबर्न र सिड्नीमा क्याम्पस रहेको उक्त इन्स्टिच्यूट निकट भविष्यमै अरू सहरहरूमा पनि शाखा खोल्ने तयारीमा छ। इन्स्टिच्यूटमा हाल ३००० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने यो निकट भविष्यमै विश्वविद्यालयमा रूपान्तरण हुने प्रकृयामा छ। अष्ट्रेलियाली मिडिया उनलाई उच्च शिक्षामा लगानी गर्ने निजी लगानीकर्ताहरूमा अग्रणी मान्छन्।

कलेजको अतिरिक्त रियल स्टेटमा पनि घलेको उल्लेखनीय लगानी छ। यो साल उनले सन् १९२० मा बनेको पुरातात्त्विक महत्त्वको आर्गस बिल्डिङ खरीद गरेका छन्। त्यहाँ उनी झन्डै २००० विद्यार्थी पढाउन मिल्ने क्याम्पस भवन बनाउने सोचमा छन्। ऐतिहासिक भवनको संरचनामा धेरै परिवर्तन नगरिकनै भवनलाई कलेजमा रूपान्तरण गर्ने उनको योजनाको सबैतिरबाट प्रशंसा गरिएको छ।
यसको अतिरिक्त घलेले नेपालमा पनि लगानी सुरु गरेका छन्। उनको लगानीमा काठमाण्डौँमा सुविधासम्पन्न मल्टीप्लेक्स बन्ने तरखरमा छ।
१९९७ देखि २००० सम्म नेपाली कन्सुलर जनरल रहेका घलेले उक्त अवधिमा नेपालको पर्यटन प्रवर्द्धनको निम्ति सक्रिय भूमिका खेलेका थिए।
'सम्पत्ति नाशवान हुन्छ',घले भन्छन् 'समाजको भलाइमा यसको सदुपयोग गर्नुपर्छ।' हिजोको शेष घले र आजको शेष घलेमा केही फरक नभएको उनी बताउँछन्।
श्रीमती जमुना घले र छोराका साथ मेलबर्नमा बस्ने घलेका बाबुआमा अझै गाउँमै छन्। उनी भन्छन्, 'उहाँहरू गाउँ छाड्नै मान्नुहुन्न।' आफू यहाँसम्म आइपुग्नाको श्रेय उनी आफ्ना बाबुआमालाई दिन्छन्। उनी थप्छन्,'म जे छु, उहाँहरूको आशीर्वादले नै सम्भव भएको हो।'