Tuesday, 22 February 2011

ब्रेन एट्याक तुरुन्त उपचारले निको हुन्छ

पत्यकामा दिनहुँ करिब ३० भन्दा बढी ब्रेन एट्याकका रोगी अस्पताल पुग्छन् । मुलुकमा नशासम्बन्धी रोगीहरूमध्ये ५० प्रतिशत ब्रेन एट्याकका रोगी छन् । छिट्टै चिकित्सा सुविधा उपलब्ध भयो भने ब्रेन एट्याकको रोगी तीव्र गतिले स्वस्थ हुन्छन् । तर जनचेतनाको अभावमा मस्तिष्कघातका अधिकांश रोगी १२ घन्टाको पर्खाइपछि अस्पतालमा पुग्ने गरेका छन् । रोगग्रस्त आधाजति अस्पताल पुग्दैनन् ।

नेपाली समाजमा मस्तिष्कघातलाई सुरुदेखि नै उपचार नहुने रोग सम्झिने गरिएको छ । यस्तै यो रोग उमेर पुगेकाहरूलाई मात्र हुने मान्यतासमेत विद्यमान छ । ढिलो उपचार सेवा लिनु पछाडिका यी सामान्य कारणहरू हुन् ।

'जनजिब्रोमा बसेको पक्षाघात/लकवालाई ब्रेन एट्याकको रूपमा लिएर आकस्मिक चिकित्सा सेवा लिने शिक्षा दिनु अत्यावश्यक छ,' वरिष्ठ स्नायु शल्य चिकित्सक डा.वसन्त पन्त भन्छन्, 'पक्षाघातको लक्षण देखिन थाल्नेदेखि आकस्मिक कक्ष पुग्दासम्मको समय जति कम गर्‍यो त्यति राम्रो ।' अन्नपूणर्ा न्युरोलोजिकल इन्स्िटच्युटमा दिनहुँ दुई ब्रेन एट्याकका रोगी पुग्ने गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मेडिसन विभागमा हुने कुल भर्नाको ३ प्रतिशत ब्रेन एट्याकका रोगी छन् ।
'नशासम्बन्धी केशमा ५० प्रतिशत मस्तिष्कघातको केश आउने गरेको छ,' त्रिवि शिक्षण अस्पताल, नशा रोग एकाईका वरिष्ठ स्नायु रोग विशेषज्ञ प्राडा. जगदीशप्रसाद अग्रवाल भन्छन् । पक्षाघात अर्थात् स्ट्रोक त्यतिखेर हुन्छ जब मस्तिष्कको कुनै खण्डमा रगतको आपूर्ति रोकिन्छ वा मस्तिष्कको कुनै रगतको नली च्यातिएर कोशिका छेउछाउमा जम्मा हुन्छ ।

मुटुमा रगत आपूर्ति अभाव भएर हृदयाघात हर्ट एट्याक) भएजस्तै मस्तिष्कमा रगतको प्रवाह कम भए वा एक्कासि रक्तश्राव हुन लाग्दा मस्तिष्कघात भएको मानिन्छ । हृदयाघातजस्तै मस्तिष्कघातमा समेत तुरुन्त उपचार आवश्यक हुन्छ । यसमा सामान्यतः रोगीको शरीरको एकपट्ट पक्षाघात हुन्छ । मात्र अनुहार, एउटा हात एउटा खुट्टा, शरीर वा अनुहारको सम्पूर्ण एक खण्डमा पक्षाघात हुन सक्छ वा दुर्बलता आउन सक्छ ।

पक्षाघातले दायाँ अंगले काम गर्न छाडेको व्यक्तिकोे मस्तिष्कमा बायाँ गोलार्द्ध -हेमिस्पियर)मा पक्षाघात भएको हुन्छ । यस्तै मस्तिष्कको दायाँ गोलार्द्धमा पक्षाघात हुँदा बायाँ अंगले काम गर्न छोड्छ । 'बायाँ मस्तिष्कको प्ाक्षाघातको नकारात्मक प्रभाव सबैभन्दा बढी हुन्छ,' दाहिने मस्तिष्कमा भएको स्ट्रोक अलि सुरक्षित हुने उल्लेख गर्दै डा.पन्त भन्छन्, '९७ प्रतिशत मान्छेको बायाँपट्टकिो मस्तिष्क दायाँभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।' मस्तिष्कमा रगतको आपूर्ति रोक्दा केही कोषिका तुरुन्त मर्छन् । अन्य कोशिका पनि मर्ने खतरा रहन्छ । समयमै औषधि गर्दा क्षतिग्रस्त कोशिका -पेनव्रा) लाई बचाउन सकिन्छ । मस्तिष्कमा अपर्याप्त रक्त आपूर्तिको स्थितिमा कोशिकाका लागि अक्सिजन र पोषणको अभावलाई इस्किेनिया भनिन्छ । यही कारण मस्तिष्कको कोशिका मर्छ । क्षतिग्रस्त कोषिकाहरू मस्तिष्क रहन्छ । अनुसन्धानअनुसार स्ट्रोक सुरु भएको साढे तीन घन्टामा जमेको रगतका फोकालाई घोल्ने एजेन्ट टिस्यु-प्लाज्मिनोजेनएक्टिवेटर दिएर यी कोशिकामा रगतको आपूर्ति कायम गर्न सकिन्छ । ब्रेन एट्याकले मस्तिष्कमा भएको क्षतिको भरपाइ मस्तिष्कले गर्ने वा न गर्नेबारे स्पष्ट जानकारीको अभाव छ । विभिन्न अध्ययनमा मृत्यु नभई क्षतिग्रस्त मात्र भएको मस्तिष्कको कोशिका पुनः स्वस्थ हुन सक्ने देखिएको छ । केही मामिलामा मस्तिष्क आफंै कामको पुनर्संयोजन गर्छ । कहिलेकाहीँ त मस्तिष्कका केही खण्डले क्षतिग्रस्त खण्डको कामसमेत सम्हाल्न थाल्छन् ।

लक्षण
एकदमै सामान्य व्यक्ति कुरा गर्दा गर्दै एक्कासि ढल्छन्, बेहोस हुन्छन्, उठे पनि एक पाटो न चल्ने हुन्छ भने यो मस्तिष्कघात हो । कहिलेकाहीँ बेहोस नभए पनि एक पाटो भने नचल्ने हुन्छ । सामान्यतः शरीरको एक भागमा आकस्मिक कमजोरी देखिनु, बोल्नु वा कसैको कुरा बुझ्न एक्कासि अप्ठ्यारो अनुभव गर्नु, एउटा वा दुवै आँखाको दृश्यशक्ति एक्कासि कम भई अप्ठ्यारो हुनु, कुनै कारणबिना एक्कासि टाउको दुख्नु वा रिंगटा लाग्नुलगायत यसका लक्षण हुन् । रिंगटा लाग्नु, टाउको दुख्नुको कारण परीक्षणका क्रममा पनि पक्षाघात उपचार हुन सक्छ ।

जोखिमको कारक
धुमपान, तनाव, मोटोपना उच्च रक्तचाप, मुटु रोग, मधुमेह पक्षाघातको जोखिम उत्पन्न गर्ने सबैभन्दा महत्त्वपूर्ण कारक हुन् । यस्तै, अत्यधिक मदिरा सेवन, रगतमा कोलेस्ट्रोलको उच्च स्तर, आनुवांशिक वा जन्मजात परिस्थिति, लागूऔषधको सेवनसमेत 'ब्रेन एट्याक'का लागि जिम्मेवार हुन्छ । रक्तचापबारे जनचेतना अभावले गर्दा समग्र स्ट्रोकमध्ये आधा जति मस्तिष्कमा रक्तश्राव भएर हुने मस्तिष्कघात देखिने गरिएको उल्लेख गर्दै प्राडा.अग्रवाल भन्छन्, 'रक्तचाप नियन्त्रणमा राख्नुपर्ने चेतना सबैमा हुनु अत्यावश्यक छ, यसले 'ब्रेन एट्याक' को संख्यामा कमी ल्याउँछ ।' 'स्थिति सामान्य भएपछि रक्तचापको औषधि खान छोड्नु ब्रेन एट्याक हुने सबैभन्दा सामान्य कारण हो,' डा. पन्त भन्छन्, 'रक्तचापको औषधि सुरु गरेपछि रक्तचाप सामान्य भए पनि औषधि खान छोड्नु हुन्न ।'

अमेरिकास्थित नेसनल स्ट्रोक एसोसिएसन, नेसनल इन्स्िटच्युट अफ न्युरोलोजिकल डिजआर्डर एन्ड स्ट्रोकको अनुसार राम्ररी उपचार भए करिब १० प्रतिशत पक्षाघातपीडित पूर्णरूपमा निको हुन्छ । २५ प्रतिशत भने केही सामान्य विकृतिसँगै निको हुन्छ । यो समस्याले पीडित ४० प्रतिशत हलकादेखि लिएर गम्भीर विकलांगताबाट ग्रस्त हुन्छन् र उनीहरूलाई विशेष रेखदेख आवश्यक हुन्छ । यस्तै, १० प्रतिशतलाई स्वास्थ्य केन्द्रमा राखेर दीर्घकालीन रेखदेख गर्ने अर्को सुविधा दिएर स्याहार गर्नुपर्ने हुन्छ । यस्तै, १५ प्रतिशत पक्षाघातको रोगी केही समयमै मर्छन् ।

पुनस्र्थापन
ब्रेन एट्याक भएपछि तुरुन्तै पुनस्र्थापन कार्य अस्पतालमै सुरु हुनुपर्छ । 'आईसीयूबाटै पुनस्र्थापन सुरु गर्नुपर्छ,' डा.पन्त बताउँछन् ।

पुनस्र्थापनको उद्देश्य रोगीको क्रियाकलापमा सुधार ल्याउनु हो । यसबाट ब्रेन एट्याक भएकाहरू सम्भव भएसम्म स्वतन्त्र रहन सकून् । उनीहरूलाई खाना खानु, हिँड्नु, बोल्नुजस्ता मौलिक काम पुनः सिकाउनुपर्ने स्थितिसमेत आउन सक्छ । पक्षाघातबाट हुने विकलांगतामा शरीरको अंग काम नगर्नु, बोल्न अप्ठ्यारो हुनु, भावनात्मक समस्या, दैनिक जीवनको समस्या, दुखाइ आदि प्रमुख हुन् ।ब्रेन एट्याकले सोच्ने, सम्झिने शक्ति, एकाग्रता, सिक्ने, स्मरणशक्ति आदिलाई समेत प्रभावित गर्छ । यो रोगपीडित व्यक्तिलाई प्रायः अरूको कुरा बुझन र आफ्नो कुरा सम्झाउन समस्या हुन सक्छ । यस्ता रोगीलाई आफ्नो भावनालाई नियन्त्रण राख्नमा समस्या हुन्छ, उनीहरू खास स्थितिमा अनुचित भावनासमेत व्यक्त गर्न सक्छन् ।

Thursday, 10 February 2011

घरजग्गा कारोबार बढ्न समय लाग्ने

काठमाडौं, माघ २७ (नागरिक) - मुलुकका प्रमुख व्यवसायी, अर्थशास्त्री, सरकारी प्रतिनिधि बैंकरहरू एकै ठाउँमा बसी हाउजिङ रियल स्टेटका चुनौतीबारे छलफल गरिरहेकै समयमा घरजग्गाको ऋण तिर्न नसकेर बागलुङका निलकण्ठ सापकोटाले सात तलामाथिबाट हाम फालेर आत्महत्या गरे।

Tuesday, 25 January 2011

माथिल्लो तामाकोसीको उद्घाटन




विद्युत् प्राधिकरण असफल भई घाटामा गएकाले सर्वसाधारणले १२ घन्टा लोडसेडिङ बेहोरिरहेका छन्, प्राधिकरणलाई थप घाटा थोपर्दै प्रधानमन्त्री माधवकुमार नेपाल १६ सिट भएका दुईवटा हेलिकोप्टर लिएर बिहीबार माथिल्लो तामाकोसीको उद्घाटन गर्न जाँदै छन् । सडक नै नपुगेको आयोजनास्थलमा भोज गर्न ३० लाख खर्च हुँदै छ ।


नयाँ पत्रिका
काठमाडौं, ९ माघ
प्रधानमन्त्री माधवकुमार नेपालले हतारहतारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शिलान्यास गर्न थालेका छन् । प्रधानमन्त्रीको ठाडो आदेशमा बिहीबार दोलखामा हुन लागेको कार्यक्रममा खानामा मात्रै ३० लाख खर्च हुने भएको छ ।

सञ्चालक समितिबाट निर्णयसमेत नगराई हतारमा शिलान्यास गर्न लागिएको आयोजनामा पुग्ने बाटोसमेत बनेको छैन । कुनै पनि अतिथि सडकबाट पुग्ने अवस्था छैन, त्यसैले १६ सिट क्षमताका दुईवटा हेलिकोप्टर चार्टर गरिएको छ ।

सुरुमा प्रधानमन्त्रीबाट १२ माघमा कार्यक्रम राख्न भनिएको थियो । बीचमा १४ गते कार्यक्रम राख्न भनिएको थियो, तर अन्तिममा १३ गते नै राख्न ठाडो आदेश आएपछि निर्माण कम्पनीलाई व्यवस्था मिलाउन गाह्रो भइरहेको छ ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना शिलान्यास गर्न सुरक्षाकर्मी र सल्लाहकारसहित प्रधानमन्त्री नेपाल बिहीबार काठमाडौंबाट उड्दै छन् । ऊर्जामन्त्री डा. प्रकाशशरण महत, सचिव शीतलबाबु रेग्मी, नेपाल प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झालगायतको जम्बो टोली हेलिकोप्टरबाट जाँदै छ ।

सेनाको व्यापारिक उडानबाट प्रतिघन्टा दुई हजार डलर अर्थात् (घन्टाको करिब डेढ लाख रुपैयाँ) मा हेलिकोप्टर चार्टर गरेर उनीहरू त्यहाँ पुग्नेछन् । काठमाडौंबाट जाने पाहुनाका लागि कम्पनीले दुईवटा हेलिकोप्टर व्यवस्था गरेको छ ।

तत्कालै शिलान्यास कार्यक्रम आयोजना गर्न ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणलाई र प्राधिकरणले माथिल्लो तामाकोसी कम्पनीलाई दबाब दिएको थियो । सञ्चालक समितिबाट निर्णयसमेत नगराई र सञ्चालक समितिमा रहेका सदस्यलाई मौखिक रूपमा जानकारी गराई शिलान्यास कार्यक्रम तय गरिएको हो ।

'कार्यक्रमस्थलसम्म बाटो पुगेको छैन, स्थानीय रूपमा शिलान्यास कार्यक्रमको विरोध भइरहेको छ, यस्तो अवस्थामा प्रधानमन्त्रीले कार्यक्रम राख्न दबाब दिनुभयो,' आयोजकहरूले भने, 'हामी बाध्य छौँ ।'

कार्यक्रमपछि आयोजना गरिने भोजका लागि क्याटरिङ पनि काठमाडौंबाटै लगिँदै छ । काठमाडौंबाट गएका पाहुना तथा कार्यक्रममा स्थानीय बासिन्दा गरी ६ सयजना हुने अनुमानका आधारमा क्याटरिङका लागि ३० लाख खर्च गरिँदै छ । 'साधारण रूपमा कार्यक्रम भएको भए १० लाखसम्म लाग्न सक्थ्यो, तर हतारमा व्यवस्था गर्नुपरेकाले क्याटरिङ पनि अत्यन्त महँगो भयो,' आयोजना स्रोतले भन्यो ।

प्रधानमन्त्रीले शिलान्यासपछि लामाबगरमा पर्ने आयोजनाको प्रस्तावित बाँध निर्माणस्थलको पनि निरीक्षण गर्नेछन् । बाँधस्थल पुग्न विद्युत्गृहबाट हेलिकोप्टरमा करिब पाँच मिनेट लाग्छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले माथिको आदेश भन्दै कार्यक्रम तय गर्न दबाब दिएको आयोजक स्रोतले बताएको छ । 'हतारहतारमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ,' कम्पनी स्रोतले नयाँ पत्रिकालाई भन्यो, 'राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा सर्वदलीय सहमति कायम नगरी किन यसो गरियो, केही बुझ्न सकिएको छैन ।'

आयोजनाका निर्देशक मृगेन्द्रबहादुर श्रेष्ठले हतारमा भए पनि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । 'कार्यक्रमस्थलको सजावट र काठमाडौंबाट जाने, खाने, बस्ने व्यवस्था गरिरहेका छौँ,' उनले भने, 'कार्यक्रम हतारमा तय भएकाले केही गाह्रो भएको छ ।'

दबाब आएपछि शिलान्यास गर्ने विषयलाई सञ्चालक समितिबाट समेत पारित गरिएको छैन । सञ्चालक समितिका सदस्यलाई पनि शिलान्यास कार्यक्रम तय भएको जानकारी मौखिक रूपमा गराइएको छ । 'शिलान्यास कार्यक्रम हतारमा तय गर्नु पर्‍यो, बैठकमा छलफल गर्न सकिने भन्दै मौखिक रूपमा जानकारी गराइएको छ,' कर्मचारी सञ्चय कोषका तर्फबाट बोर्डका सदस्य राधाकृष्ण पोतेले भने । सञ्चालक समितिमा विद्युत् प्राधिकरणका चारजना, टेलिकमका कार्यकारी निर्देशक, कर्मचारी सञ्चय कोषका प्रतिनिधि, बिमा संस्थानका प्रशासक, नागरिक लगानी कोषका कार्यकारी निर्देशक सदस्य छन् ।

माथिल्लो तामाकोसी सरोकार समितिका उपाध्यक्ष जितवीर लामाले अनावश्यक खर्च गरेर गर्न लागिएको शिलान्यास कार्यक्रम स्थगित गरिनुपर्ने बताए । 'राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरू सर्वदलीय र सहमतीय आधारमा अगाडि बढाइनुपर्छ, अनावश्यक खर्च बढाइनुहुन्न, यस्तो विषय शिलान्यास गर्ने व्यक्तिले बुझ्नुपर्ने हो', उनले भने ।

एकीकृत माओवादीले शिलान्यास कार्यक्रम कुनै पनि हालतमा हुन नदिने निर्णय गरेको छ । माओवादीले शिलान्यास कार्यक्रम स्थगित नगरिएसम्म आयोजनाले गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएको छ । माओवादीका दोलखा इन्चार्ज कृष्णबहादुर भुजेलले सर्वदलीय सहमति कायम नगरी गर्न लागिएको कार्यक्रम तत्काल स्थगित गरिनुपर्ने बताए ।

आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब २९ करोड रहेको छ, तर निर्माण अवधिको ब्याजको हिसाब छुट्टै हुनेछ । आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब र नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले दुई/दुई अर्ब ऋण प्रवाह गर्दै छन् । आयोजनाको निर्माण सन् २०१५ भित्र सक्ने लक्ष्य राखिएको छ ।