Sunday, 29 May 2011

उच्च रक्तचाप (Hypertension)

शरीरमा रगत संचार हुने बेलामा धमनीको भित्तामा (arterial wall)पर्ने चापलाई रक्तचाप (blood pressure/ BP) भनेर बुझिन्छ।रक्तचाप जति धेरै हुन्छ, मुटु र मृगौलालाई असर पर्ने र साथै ज्यानलाई नै जोखिम हुने सम्भावना त्यति नै धेरै हुन्छ।


सामान्यत: रक्तचाप नाप्दा 120/80 mmHg भन्दा कम हुन्छ। यदि रक्तचाप 120/80 mmHg देखि 139/89 mmHg बीच छ भने पूर्व-उच्च रक्तचाप (Pre-hypertension) भनिन्छ भने 140/90 mmHg वा त्यो भन्दा माथि छ भने उच्च रक्तचाप (Hypertension) भनेर भनिन्छ।

उच्च रक्तचाप कसलाई हुन्छ त?
- उच्च रक्तचाप वंशाणुगत जाने भएको हुनाले तपाईको परिवारमा पहिले देखि यो समस्या छ भने तपाईलाई पनि सो समस्या हुनसक्छ।

- मधुमेह, मृगौला र मुटुको रोगहरु पनि उच्च रक्तचापको जड हो

- जीवनशैली: मोटोपन, अधिक मात्रामा नून वा नूनिलो खानाको सेवन, धूम्रपान र मद्यपान साथै बिना व्यायाम-कसरतको शारिरिक निष्क्रियता

- उमेर ढल्दै जाँदा पनि रक्तचाप बढ्दै जान्छ

उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने?
- यसको सुरुमा कुनै चिन्हहरु र लक्षणहरु हुँदैन, त्यसैले रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ।

उच्च रक्तचाप कसरी कम गर्न सकिन्छ त?

- नियमित रुपमा रक्तचाप चेक (BP Check) गर्नुहोस्

- नून (नूनिलो खाना) साथै चिल्लो खाना पनि एकदम कम सेवन गर्नुहोस्

- प्रशस्त फलफूल र तरकारी खानुहोस्

फलफूल र तरकारी पोटासियमको प्राकृतिक स्रोत हो, जसले उच्च रक्तचाप कम गराउन सहयोग पुर्‍याउन्छ। फलफूल र तरकारीमा नून र चिल्लो कम हुन्छ भने रेसाको (fiber) राम्रो स्रोत हो।

- मानसिक तनाव कम गर्नुहोस्

- उच्च रक्तचापबाट हृदयघात पनि हुने गर्नाले त्यसबाट बच्नको लागि
धूम्रपानको लत त्याग्नुहोस्।
- सक्रिय जीवनशैली अप्नाउनुहोस्। शारिरिक सक्रियताले (कम्तीमा हप्तामा ४-५ दिन ३० मिनेट कसरत) उच्च रक्तचाप कम गर्नु साथै स्वस्थ वजन सन्तुलन गर्न साथै वजन घटाउन र अन्य रोगहरु लाग्नबाट पनि बँचाउछ।

Monday, 23 May 2011

गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ

कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ ७ - गोलभेडा नियमित सेवन गर्नाले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित हुन्छ । दिनहँु गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ ।

युनिभर्सिटी अफ एडिलेटका वैज्ञानिक नेतृत्वको एउटा अन्तर्राष्ट्रिय दलले दाबी गरेअनुसार गोलभेडामा पाइने रातो तत्त्व 'लाइकोपेन' मा एसिअक्सिडेन्टजस्तो गुण हुन्छ, जुन स्वास्थ्यका लागि उपयोगी हुन्छ ।
'म्याच्युराइटस्' जर्नलमा प्रकाशित उक्त अध्ययनमा कोलेस्ट्रोल र रक्तचापमा लाइकोपेनको प्रभाव विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो । यसका लागि पछिल्ला ५५ वर्षमा भएका १४ अध्ययनको सामूहिक परिणामको तुलनात्मक आँकलन पनि गरियो । अध्ययन दलका प्रमुख डा. केरिन रिड भन्छन्, 'हाम्रो अध्ययनले थाहा भएअनुसार, दिनहँु २५ मिलिग्रामभन्दा बढी लाइकोपेन खाएर कोलेस्ट्रोललाई १० प्रतिशतसम्म कम गर्न सकिन्छ ।'

गोलभेडामा लाइकोपेनको उच्चस्तर हुन्छ । दिनहँु गोलभेडाको करिब आधा लिटर जुस खाए वा ५० ग्राम पेस्ट सेवन गरिए मुटुको रोगबाट बच्न सकिन्छ ।
बाख्राको दूध पनि
पोषक तत्त्वले भरिएको बाख्राको दूधसमेत मुटुको स्वास्थ्यका लागि उत्तम मानिन्छ । स्पेनको ग्रेनाडा विश्वविद्यालयको एक अध्ययनअनुसार बाख्राको दूधमा पाइने बोसो तत्त्वले कोलेस्ट्रोलको स्तर कम गर्छ । नियमित रूपमा बाख्राको दूध खानाले रक्तअल्पता -एनिमिया)ले पीडित रोगीहरूको स्वास्थ्यमा सुधार आउँछ । यो दूधले हेमोग्लोबिन बन्न सघाउँछ ।

प्रा. मार्गरिटा स्यानचेज क्याम्पोसेका अनुसार बाख्राको दूधमा धेरै पोषकतत्त्व हुन्छ । यसमा 'क्यासिन' प्रोटिनसमेत सामेल छ, जसले बाख्राको दूधलाई मानव दूधजस्तै बनाउँछ । बाख्राको दूधमा मानव दूधमा जस्तै ओलिगोग्लिसराइड पनि हुन्छ । बाख्राको दूधमा गाईको दूधको दाँजोमा ल्याक्टोज (दूधमा पाइने सर्करा) को मात्रा कम हुन्छ । ल्याक्टोज पचाउन नसक्नेहरूले समेत बाख्राको दूध खान सक्छन् ।
बोसोको सही मात्राले ढुकढुकी सामान्य
खानपानमा बोसोको सही मात्रा मुटुको ढुकढुकीलाई सुचारु राख्न आवश्यक छ । खानपानमा बोसो न हुँदा मुटुलाई सर्वोत्कृष्ट रूपमा धड्किने क्षमता कम हुन सक्छ ।

मुख्य रूपमा मुटु रोगीमा यसको आशंका बढी हुन्छ
यो अनुसन्धान केस वेस्टर्न रिजर्व विश्वविद्यालय फिजियोलजी तथा बायो फिजिक्सका प्रा.मागर््रेट चान्डलर र उनका सहयोगीहरूले गरेका हुन् ।
अनुसन्धान परिणामअनुसार खानपानमा बोसोको उच्च मात्राले मुटुको धड्कनको क्षमतामा सुधार हुन्छ । प्रा. चान्डलरका अनुसार यसको अर्थ यो होइन कि हृदयाघात भएपछि पनि तपाईं बर्गरजस्तो वस्तु खान थाल्नुस् । तर यसले मुटुलाई पर्याप्त ऊर्जा तथा सामान्य मेटाबोलिज्मको काम गर्न सहयोग मिल्न सक्छ ।
यो अनुसन्धान अमेरिकन जर्नल अफ फिजियोलजी हार्ट एन्ड सर्कुलेट्री फिजियोलजीमा प्रकाशित भएको छ । यसअनुसार एकल तथा बहु-असन्तृप्त बोसोयुक्त संतुलित भोजन मुटुको रोगीहरूका लागि राम्रो हुन्छ, जो सख्खर र कार्बोहाईड्रेटको रूपमा परिवर्तित गर्न सकिन्छ ।
त्यही एक स्वस्थ मनुष्यमा मुटु ऊर्जाका लागि बोसो र कार्बोहाइड्रेट दुवैको उपयोग गर्छ, जो मुटुको ढुकढुकीको क्षमताका लागि आवश्यक छ ।

आदर्श रूपमा बोसोको उपयोग यस कारण हुन्छ भने यसले बढी ऊर्जा उत्पादन गर्छ । हार्ट फेलको स्थितिमा ऊर्जाका रूपमा ग्लुकोजको उपयोग यसैले प्राथमिकताका आधारमा गरिन्छ, किनभने यसले ऊर्जा उत्पन्न गर्न अक्सिजनको कम मात्राको आवश्यकता पर्छ ।
प्रकाशित मिति: २०६८ जेष्ठ ७ ०९:२१

Monday, 25 April 2011

भिसी विजेता तुलबहादुर पुन रहेनन्


घनश्याम खड्का

म्याग्दी, वैशाख ८ -
बेलायति सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस -भिसी) विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ ।
पुन पार्थिव शरिरलाई बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि भोली बैशाख ९ गते शुक्रवार कालिगण्डकी नदी किनारामा हिन्दु धार्मिक विधी अनुसार सद्गत गरिने भएको छ ।
पुनको बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमा मृत्यु भएको हो । तुलबहादुर पुनको जन्म विसं २१ फागुन १९६९ -२३ मार्च १९२३) मा म्याग्दी जिल्लाको बेगखोला गाविस-८ बान्दुकमा भएको थियो ।

छोरा विकास पुनका अनुसार जन्म थलो मै मर्ने इच्छा अनुसार बेलायतमा बस्दै आएका पुन गत फागुन अन्तिमसाता जन्मथलो फर्केका थिए । पुनका एक श्रीमति, ३ छोरा र ८ छोरी छन् । घर फर्केपछि चैत महिनाभरी घार गाविस स्थित तातोपानीमा डुबेर बाथको उपचार गराएका पुन नयाँ बर्षसंगै घर फर्केका थिए ।
उनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उनलाई भिसी क्रस पदक प्राप्त भएको हो । यो युद्धमा पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो ।
जनवरी २९, १८५८ मा संयुक्त अधिराज्य वेलायतका महारानी भिक्टोरियाबाट राजकीय घोषणाको अधिकार प्रयोगगरी भिक्टोरिया क्रसको स्थापना भएको हो । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आपmनो राष्ट्रको लागी अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने ब्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।
प्रकाशित मिति: २०६८ वैशाख ८ ११:२६

टाउकाको कठोर पीडा माइग्रेन

लक्ष्मण अधिकारी


Adhikari2007@yahoo.com
((( जुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ। अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनुपर्छ। सकेसम्म अनिन्द्रा र खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ। साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ। )))

कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो । टाउको सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ । भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ ।
मानिसहरुमा टाउको दुखाइका आमकारणहरुमा मानसिक तनाव र माइग्रेन नै प्रमुख हुन् । टाउको दुखाइको ४५ प्रतिशत कारण मानसिक तनाव हो भने ३० प्रतिशत कारण माइगे्रन हो । टाउको दुखाइमा अत्यन्तै कडा पीडाको महसुस गर्ने समस्या माइग्रेन हो, जसका कारण मानिसहरु करिब २ घण्टादेखि ३ दिनसम्म ज्यादै असहज अवस्थामा पुगेका हुन्छन् । सामान्यतया माइग्रेन उपचारै नगरी कम हुँदै जान्छ तर पटक-पटक दोहोरिएर जीवनको लामो समयसम्म आइरहन सक्छ, जसले मानिसको जीवन असहज हुनका साथै उत्पादकत्व पनि घटाउँछ । माइग्रेनलाई पर्ूण्ा निको पार्न नसकिए पनि छिटो-छिटो दोहोरिएर आउने र लामो अवधि कठोर पीडा भइरहने अवस्थालाई भने न्यूनीकरण गर्न सकिन्छ । माइग्रेनजस्तै पीडा टाउकोमा लाग्ने अन्य रोगका कारण पनि हुन सक्ने भएकाले र्सवप्रथम रोगको यकिन गर्न जरुरी छ । माइग्रेन नै भएको यकिन भए पनि कतिपय अवस्थामा आफैंले पनि व्यवस्थापन गरी पीडालाई सहज बनाउन सकिने विज्ञहरुको भनाइ छ ।

असाध्य टाउको दुखाइ माइग्रेन
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँतनाव टाउको दुखाइको प्रमुख कारण हो र माइग्रेन हुनुको एउटा कारण तनाव पनि हो । उहाँका अनुसार बराबर तनावग्रस्त हुने मानिसलाई पछि माइग्रेन पनि हुन सक्छ र लामो समय माइग्रेन भएका मानिसलाई पछि अर्को मानसिक रोग ड्रि्रेसन पनि भएको पाइएको छ । कहिलेकाहीँ ड्रि्रेसन सुरु भएपछि
यसै रोगको लक्षणस्वरुप माइग्रेन देखापर्छ । यसको मतलव ड्रि्रेसनलगायतका मुड डिर्सअर्डरसँग यसको सम्बन्ध छ । आजको भागदौड र तनावयुक्त समाजमा यो समस्या वृद्धि भएको देखिन्छ ।
टाउको दुख्ने कारणहरु
तनाव ४५ प्रतिशत
माइग्रेन ३० प्रतिशत
पिनास र आँखा ८ प्रतिशत
अरु रोगको संक्रमण ७ प्रतिशत
टाउकाको चोटपटक ३ प्रतिशत
ब्रेन ट्युमर, सेरोब्रोभास्कुलर
डिजिज, मस्तिष्कको संक्रमण र मस्तिष्कमा हुने अन्य रोगहरु ७ प्रतिशत

माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । माइग्रेनलाई टाउको दुखाइको चरम अवस्था मान्न सकिन्छ । भनिन्छ, वास्तविक माइग्रेनको पीडा भुक्तभोगीले मात्र बताउन सक्छ । माइग्रेनको टाउको दुखाइ अन्य सामान्य टाउको दुखाइभन्दा एकदम फरक हुन्छ । वरिष्ठ न्यूरो र्सजन डा. पवनकुमार भन्नुहुन्छ- ँमाइग्रेनले आक्रमण भएका बेला आकाशै खस्लाजस्तो हुन्छ तर जब यसले छोड्छ, मानिस पुनः सामान्य अवस्थामा नै हुन्छ । उसलाई रोगको कुनै अनुभव हँुदैन ।’ डा. पवनका अनुसार माइग्रेन सुरु भएपछि यो पटक-पटक दोहोरिएर आउँछ र जीवनको लामो अवधिसम्म रहिरहन्छ । पछि यो आफंै हराएर जान पनि सक्छ ।
सुरुमा सामान्य पेनकिलरले पनि ठीक हुन्छ तर पछि यो औषधि पनि प्रभावहीन हँुदै जान्छ । स्थिति नाजुक भएर अस्पताल नै भर्ना हुनुपर्ने स्थिति सिर्जना हुन्छ । भोग्नेलाई ज्यादै गाह्रो भए पनि यसलाई खतरनाक रोग मानिदैन । डा. पवनका अनुसार माइग्रेनबाट प्यारालाइसिस हुने, ब्रेन हेमरेज हुने हुँदैन । यसकै कारण ज्यान पनि जाँदैन । यसलाई निको पार्न सकिन्न तर नियन्त्रण गर्न सकिन्छ ।
माइग्रेनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । डा. पवनका अनुसार माइग्रेन भएका मानिसमध्ये ७० प्रतिशत महिला हुन्छन् । पूरा जनसंख्यामा ५ देखि १० प्रतिशतलाई माइग्रेन भएको पाइएको छ । यो समस्या प्रायः किशोरावस्थामा सुरु हुन्छ र लामो समयसम्म रहन्छ ।
माइग्रेनको प्रमुख लक्षण
असाध्य टाउको दुख्नु र वाकवाक लाग्नु माइग्रेनको प्रमुख लक्षण हो । यो समस्या सुरु भएपछि टाउको फुट्लाजस्तो गरी नै दुख्छ । माइग्रनेको टाउको दुखाइमा अक्सर बान्ता हुन्छ । माइगे्रन हुँदा धेरैजसोमा असाध्यसँग आधा टाउको दुख्ने हुन्छ । यसलाई आधा शिर दुख्ने भनिए तापनि एक तिहाइ शिर दुखाइ कन्चटको दुवैतिर नै दुख्ने हुन्छ । एकतर्फमात्र दुखाइ हुने समस्याले ठाउँ बदलिरहेको हुन्छ । कसै-कसैलाई पूरै टाउको पनि दुख्छ । दुखाइको क्रम टनटन गरेर टन्किने पाराको हुन्छ । चर्को आवाज सुन्न नसकिने, उज्यालो हर्ेन गाह्रो हुने, आँखा तिर्मिराउने र बान्ता हुने हुन्छ । बान्ता भएपछि केही शान्त हुन्छ । बेला-बेलामा आँखा, कन्पारो र कानसम्म दुख्छ । यसमा पीडितको आँखामा असामान्य चमक देखिन्छ । प्रकाश, आवाज र गन्धको पहिचान गर्न कठिन हुन्छ

Tuesday, 22 February 2011

हवाई भाडा तीस प्रतिशतसम्म बढ्यो

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले बुधबारबाट न्युनतम सातदेखि अधिकतम ३० प्रतिशतसम्म हवाई भाडा बढाएका छन्। अब काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमरा जान २ हजार १ सय ६० रुपैयाँ लाग्छ भने टाढाको धनगढी जान ८ हजार २ सय ५५ रुपैयाँ तिर्नुपर्छ। भारतीय र नेपालीलाई माउन्टेन फ्लाइट गर्न अब ८ हजार १ सय ५ रुपैयाँ लाग्छ। यी सबै भाडा दर करसहित हुन्। यसअघि सिमराको भाडा १ हजार ६ सय ६०, धनगढीको ७ हजार ७ सय ४० र माउन्टेन फ्लाइटको ६ हजार ९ सय ९० रुपैयाँ थियो।

'सरकारले फागुन १ बाट हवाई भाडा बढाउने स्वीकृति दिए पनि हामीले ४ गतेबाट बढायौं,' बुद्ध एयरका वरिष्ठ प्रबन्धक रुपेश जोशीले बुधबार नागरिकसँग भने, 'पाँच वर्षपछि बढाएका हौं।' जोशीका अनुसार कम्पनीहरूले सस्तोतर्फ भाडा बढाएका छैनन् भने मध्यमतर्फ २ सय ५० रुपैयाँ र नर्मलतर्फ ५ सय १५ रुपैयाँसम्म बढाएका हुन्। प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति भए पनि पाँच वर्षसम्म केही हुन सकेको थिएन।

हवाई भाडा पुनरावलोकन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत कात्तिक १७ मा कार्यदल गठन गरेको थियो। त्यसअनुसार काम नभएपछि निजी वायुसेवा कम्पनीहरूको संगठन वायुसेवा सञ्चालकसंघले गत माघ १७ मा हवाई भाडा तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको थियो। 'पाँच वर्षभित्र हवाई इन्धन, जहाज मर्मत सम्भार, बिमा, ल्यान्डिङ, पार्किङ, वायुयान दर्ता, नवीकरण, लिज कर, भ्याट, महँगी वृद्धि भएको छ,' जोशीले भने, 'तर, पनि भाडा बढाउन सकिएको थिएन।'

गुण एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले मध्यमतर्फ पोखराका लागि २ सय ८०, विराटनगर ३ सय १५ र भैरहवा सेक्टरमा ३ सय १५ बढेको जानकारी दिए। 'सस्तोतर्फ भने भाडा दर तलमाथि गरेका छैनौं,' उनले भने। नर्मलतर्फ सिमरालाई ५ सय र धनगढी सेक्टरमा ५ सय १५ रुपैयाँ बढेको उनले बताए। उनका अनुसार सस्तोतर्फ पोखरा करसहित २ हजार ३०, विराटनगर ३ हजार २ सय १० र भैरहवाको २ हजार ८ सय ९५ रुपैयाँलाई यथावत राखिएको छ।

सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए 'फ्युल सरचार्ज' पनि समायोजन गर्न पाउने सहमति छ। वायुसेवा सञ्चालकले सरचार्ज भन्ने गरे पनि यात्रुका लागि भाडा तलमाथि हुने गर्छ। फ्युल सरचार्ज हवाई टिकटमै उल्लेख भएको हुन्छ।

'सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय गरेको छ,' यती एयरलाइन्सका वरिष्ठ बिक्री तथा बजार निर्देशक विनय शाक्यले भने, 'अहिले फ्युल सरचार्ज बढेको भने होइन।'

वायुसेवा कम्पनीका अनुसार नर्मल भाडातर्फ अब पोखरा जान करसहित ३ हजार ३ सय ६० रुपैयाँ लाग्छ। यसअघि २ हजार ८ सय ६० लाग्थ्यो। त्यसै गरी विराटनगर जान ४ हजार ७ सय २०, भैरहवा ४ हजार १ सय ९०, भद्रपुर ५ हजार ४ सय ३५, जनकपुर २ हजार ८ सय ५५, भरतपुर २ हजार ४ सय ८५ र नेपालगन्ज जान ५ हजार ९ सय ८५ रुपैयाँ तिर्नुपर्छ।

वायुसेवा कम्पनीहरूले गत मंसिर तेस्रो साता आन्तरिक सेक्टरको भाडा दर समान बनाएका थिए। यसअघि सबैको भाडा दर फरक–फरक थियो। फरक दर हुँदा यात्रुले छानेर जहाज चढ्न पाउँथे। यात्रुलाई थप गुणस्तरीय सेवा दिन र प्रतिस्पर्धामा खरो उत्रिन भाडा समान बनाएको वायुसेवा कम्पनीले बताए पनि यसको प्रत्यक्ष मार यात्रुलाई परेको छ। यती एयरलाइन्स, गुण एयरलाइन्स र अग्नि एयरले सस्तो, मध्यम र नर्मल तीनै थरी भाडा दरमा ६० देखि ६ सय रुपैयाँसम्म बढाएर प्रतिस्पर्धी वायुसेवा बुद्ध एयरसरह बनाएका थिए।

गन्तव्य        अहिले    पहिले
पोखरा          ३३६०      २८६०
विराटनगर   ४७२०      ४२२०
भैरहवा         ४१९०     ३६८०
भद्रपुर         ५४३५      ४९३०
धनगढी        ८२५५      ७७४०
सिमरा         २१६०      १६६०
जनकपुर      २८५५     २३५०
भरतपुर        २४८५     १९७५
नेपालगन्ज   ५९८५     ५४७०

मूल्य रुपैयाँमा

ब्रेन एट्याक तुरुन्त उपचारले निको हुन्छ

पत्यकामा दिनहुँ करिब ३० भन्दा बढी ब्रेन एट्याकका रोगी अस्पताल पुग्छन् । मुलुकमा नशासम्बन्धी रोगीहरूमध्ये ५० प्रतिशत ब्रेन एट्याकका रोगी छन् । छिट्टै चिकित्सा सुविधा उपलब्ध भयो भने ब्रेन एट्याकको रोगी तीव्र गतिले स्वस्थ हुन्छन् । तर जनचेतनाको अभावमा मस्तिष्कघातका अधिकांश रोगी १२ घन्टाको पर्खाइपछि अस्पतालमा पुग्ने गरेका छन् । रोगग्रस्त आधाजति अस्पताल पुग्दैनन् ।

नेपाली समाजमा मस्तिष्कघातलाई सुरुदेखि नै उपचार नहुने रोग सम्झिने गरिएको छ । यस्तै यो रोग उमेर पुगेकाहरूलाई मात्र हुने मान्यतासमेत विद्यमान छ । ढिलो उपचार सेवा लिनु पछाडिका यी सामान्य कारणहरू हुन् ।

'जनजिब्रोमा बसेको पक्षाघात/लकवालाई ब्रेन एट्याकको रूपमा लिएर आकस्मिक चिकित्सा सेवा लिने शिक्षा दिनु अत्यावश्यक छ,' वरिष्ठ स्नायु शल्य चिकित्सक डा.वसन्त पन्त भन्छन्, 'पक्षाघातको लक्षण देखिन थाल्नेदेखि आकस्मिक कक्ष पुग्दासम्मको समय जति कम गर्‍यो त्यति राम्रो ।' अन्नपूणर्ा न्युरोलोजिकल इन्स्िटच्युटमा दिनहुँ दुई ब्रेन एट्याकका रोगी पुग्ने गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मेडिसन विभागमा हुने कुल भर्नाको ३ प्रतिशत ब्रेन एट्याकका रोगी छन् ।
'नशासम्बन्धी केशमा ५० प्रतिशत मस्तिष्कघातको केश आउने गरेको छ,' त्रिवि शिक्षण अस्पताल, नशा रोग एकाईका वरिष्ठ स्नायु रोग विशेषज्ञ प्राडा. जगदीशप्रसाद अग्रवाल भन्छन् । पक्षाघात अर्थात् स्ट्रोक त्यतिखेर हुन्छ जब मस्तिष्कको कुनै खण्डमा रगतको आपूर्ति रोकिन्छ वा मस्तिष्कको कुनै रगतको नली च्यातिएर कोशिका छेउछाउमा जम्मा हुन्छ ।

मुटुमा रगत आपूर्ति अभाव भएर हृदयाघात हर्ट एट्याक) भएजस्तै मस्तिष्कमा रगतको प्रवाह कम भए वा एक्कासि रक्तश्राव हुन लाग्दा मस्तिष्कघात भएको मानिन्छ । हृदयाघातजस्तै मस्तिष्कघातमा समेत तुरुन्त उपचार आवश्यक हुन्छ । यसमा सामान्यतः रोगीको शरीरको एकपट्ट पक्षाघात हुन्छ । मात्र अनुहार, एउटा हात एउटा खुट्टा, शरीर वा अनुहारको सम्पूर्ण एक खण्डमा पक्षाघात हुन सक्छ वा दुर्बलता आउन सक्छ ।

पक्षाघातले दायाँ अंगले काम गर्न छाडेको व्यक्तिकोे मस्तिष्कमा बायाँ गोलार्द्ध -हेमिस्पियर)मा पक्षाघात भएको हुन्छ । यस्तै मस्तिष्कको दायाँ गोलार्द्धमा पक्षाघात हुँदा बायाँ अंगले काम गर्न छोड्छ । 'बायाँ मस्तिष्कको प्ाक्षाघातको नकारात्मक प्रभाव सबैभन्दा बढी हुन्छ,' दाहिने मस्तिष्कमा भएको स्ट्रोक अलि सुरक्षित हुने उल्लेख गर्दै डा.पन्त भन्छन्, '९७ प्रतिशत मान्छेको बायाँपट्टकिो मस्तिष्क दायाँभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।' मस्तिष्कमा रगतको आपूर्ति रोक्दा केही कोषिका तुरुन्त मर्छन् । अन्य कोशिका पनि मर्ने खतरा रहन्छ । समयमै औषधि गर्दा क्षतिग्रस्त कोशिका -पेनव्रा) लाई बचाउन सकिन्छ । मस्तिष्कमा अपर्याप्त रक्त आपूर्तिको स्थितिमा कोशिकाका लागि अक्सिजन र पोषणको अभावलाई इस्किेनिया भनिन्छ । यही कारण मस्तिष्कको कोशिका मर्छ । क्षतिग्रस्त कोषिकाहरू मस्तिष्क रहन्छ । अनुसन्धानअनुसार स्ट्रोक सुरु भएको साढे तीन घन्टामा जमेको रगतका फोकालाई घोल्ने एजेन्ट टिस्यु-प्लाज्मिनोजेनएक्टिवेटर दिएर यी कोशिकामा रगतको आपूर्ति कायम गर्न सकिन्छ । ब्रेन एट्याकले मस्तिष्कमा भएको क्षतिको भरपाइ मस्तिष्कले गर्ने वा न गर्नेबारे स्पष्ट जानकारीको अभाव छ । विभिन्न अध्ययनमा मृत्यु नभई क्षतिग्रस्त मात्र भएको मस्तिष्कको कोशिका पुनः स्वस्थ हुन सक्ने देखिएको छ । केही मामिलामा मस्तिष्क आफंै कामको पुनर्संयोजन गर्छ । कहिलेकाहीँ त मस्तिष्कका केही खण्डले क्षतिग्रस्त खण्डको कामसमेत सम्हाल्न थाल्छन् ।

लक्षण
एकदमै सामान्य व्यक्ति कुरा गर्दा गर्दै एक्कासि ढल्छन्, बेहोस हुन्छन्, उठे पनि एक पाटो न चल्ने हुन्छ भने यो मस्तिष्कघात हो । कहिलेकाहीँ बेहोस नभए पनि एक पाटो भने नचल्ने हुन्छ । सामान्यतः शरीरको एक भागमा आकस्मिक कमजोरी देखिनु, बोल्नु वा कसैको कुरा बुझ्न एक्कासि अप्ठ्यारो अनुभव गर्नु, एउटा वा दुवै आँखाको दृश्यशक्ति एक्कासि कम भई अप्ठ्यारो हुनु, कुनै कारणबिना एक्कासि टाउको दुख्नु वा रिंगटा लाग्नुलगायत यसका लक्षण हुन् । रिंगटा लाग्नु, टाउको दुख्नुको कारण परीक्षणका क्रममा पनि पक्षाघात उपचार हुन सक्छ ।

जोखिमको कारक
धुमपान, तनाव, मोटोपना उच्च रक्तचाप, मुटु रोग, मधुमेह पक्षाघातको जोखिम उत्पन्न गर्ने सबैभन्दा महत्त्वपूर्ण कारक हुन् । यस्तै, अत्यधिक मदिरा सेवन, रगतमा कोलेस्ट्रोलको उच्च स्तर, आनुवांशिक वा जन्मजात परिस्थिति, लागूऔषधको सेवनसमेत 'ब्रेन एट्याक'का लागि जिम्मेवार हुन्छ । रक्तचापबारे जनचेतना अभावले गर्दा समग्र स्ट्रोकमध्ये आधा जति मस्तिष्कमा रक्तश्राव भएर हुने मस्तिष्कघात देखिने गरिएको उल्लेख गर्दै प्राडा.अग्रवाल भन्छन्, 'रक्तचाप नियन्त्रणमा राख्नुपर्ने चेतना सबैमा हुनु अत्यावश्यक छ, यसले 'ब्रेन एट्याक' को संख्यामा कमी ल्याउँछ ।' 'स्थिति सामान्य भएपछि रक्तचापको औषधि खान छोड्नु ब्रेन एट्याक हुने सबैभन्दा सामान्य कारण हो,' डा. पन्त भन्छन्, 'रक्तचापको औषधि सुरु गरेपछि रक्तचाप सामान्य भए पनि औषधि खान छोड्नु हुन्न ।'

अमेरिकास्थित नेसनल स्ट्रोक एसोसिएसन, नेसनल इन्स्िटच्युट अफ न्युरोलोजिकल डिजआर्डर एन्ड स्ट्रोकको अनुसार राम्ररी उपचार भए करिब १० प्रतिशत पक्षाघातपीडित पूर्णरूपमा निको हुन्छ । २५ प्रतिशत भने केही सामान्य विकृतिसँगै निको हुन्छ । यो समस्याले पीडित ४० प्रतिशत हलकादेखि लिएर गम्भीर विकलांगताबाट ग्रस्त हुन्छन् र उनीहरूलाई विशेष रेखदेख आवश्यक हुन्छ । यस्तै, १० प्रतिशतलाई स्वास्थ्य केन्द्रमा राखेर दीर्घकालीन रेखदेख गर्ने अर्को सुविधा दिएर स्याहार गर्नुपर्ने हुन्छ । यस्तै, १५ प्रतिशत पक्षाघातको रोगी केही समयमै मर्छन् ।

पुनस्र्थापन
ब्रेन एट्याक भएपछि तुरुन्तै पुनस्र्थापन कार्य अस्पतालमै सुरु हुनुपर्छ । 'आईसीयूबाटै पुनस्र्थापन सुरु गर्नुपर्छ,' डा.पन्त बताउँछन् ।

पुनस्र्थापनको उद्देश्य रोगीको क्रियाकलापमा सुधार ल्याउनु हो । यसबाट ब्रेन एट्याक भएकाहरू सम्भव भएसम्म स्वतन्त्र रहन सकून् । उनीहरूलाई खाना खानु, हिँड्नु, बोल्नुजस्ता मौलिक काम पुनः सिकाउनुपर्ने स्थितिसमेत आउन सक्छ । पक्षाघातबाट हुने विकलांगतामा शरीरको अंग काम नगर्नु, बोल्न अप्ठ्यारो हुनु, भावनात्मक समस्या, दैनिक जीवनको समस्या, दुखाइ आदि प्रमुख हुन् ।ब्रेन एट्याकले सोच्ने, सम्झिने शक्ति, एकाग्रता, सिक्ने, स्मरणशक्ति आदिलाई समेत प्रभावित गर्छ । यो रोगपीडित व्यक्तिलाई प्रायः अरूको कुरा बुझन र आफ्नो कुरा सम्झाउन समस्या हुन सक्छ । यस्ता रोगीलाई आफ्नो भावनालाई नियन्त्रण राख्नमा समस्या हुन्छ, उनीहरू खास स्थितिमा अनुचित भावनासमेत व्यक्त गर्न सक्छन् ।

Thursday, 10 February 2011

घरजग्गा कारोबार बढ्न समय लाग्ने

काठमाडौं, माघ २७ (नागरिक) - मुलुकका प्रमुख व्यवसायी, अर्थशास्त्री, सरकारी प्रतिनिधि बैंकरहरू एकै ठाउँमा बसी हाउजिङ रियल स्टेटका चुनौतीबारे छलफल गरिरहेकै समयमा घरजग्गाको ऋण तिर्न नसकेर बागलुङका निलकण्ठ सापकोटाले सात तलामाथिबाट हाम फालेर आत्महत्या गरे।